Tuesday, March 6, 2012

मृत्युको गीत

–डा.आदर्श प्रधान

अनायसै भुकम्प आयो
जमिन थर्थराउन थाल्यो
मानिसहरु एकाएक भाग्न थाले कर्मक्षेत्रबाट
गाएर आफ्नै मृत्युको गीत ।

त्यही भीडमा मिसिएँ म पनि
हेरेँ प्रत्येकको मुहार
र मैले देखेँ
स्वाभिमान, अहम्, वैभव टुक्रिएर
प्रकृति सामु निसंकोच काँपिरहेका अनुहारहरु ।

त्यही क्षण,
मलाई भित्रैदेखि बोध भयो
शरीर, मन, भावनाभित्रको चेतना
किन बनिरहेछ आज एकाकार ?
र,
गाइरहेछन् एउटै लयमा
मृत्युको गीत ।
साभार ः नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित कविता पत्रिका–९१ (जेठ–भदौं )२०६८