Tuesday, May 18, 2010

ध्यानः निर्बाणको बाटो

– डा. आदर्श प्रधान
एम.डी.(एक्यू.), रेकी मास्टर

आजकाल मानिसहरु योग ध्यानतिर आकर्षित हुन थालेकाछन् । आफ्ना व्यस्त दिनचर्याको कारणले संगालेको तनाव कम गर्न होस् या स्वस्थ बन्न होस्, धेरैले ध्यानलाई केही समय दिने गरेकाछन् । तर ध्यानको महिमा त्यत्तिकैमा सिमित छैन । ध्यानको अन्तिम लक्ष्य निर्बाणको साक्षात्कार गर्नु हो । अतः ध्यान मनुष्यको चेतनालाई रुपान्तरण गर्ने क्रिया हो ।

आम मान्छेको धारणा यो छ कि ध्यान भनेको एकाग्रता हो । तर ध्यान र एकाग्रताको कुनै सम्बन्ध छैन । जसरी दिन र रात एकै समयमा हुन सक्दैन त्यसरी नै ध्यान र एकाग्रता एकै समयमा कदापी हुन सक्दैन । एकाग्रता भन्नाले कुनै एक कुरामा मात्र अडिरहनु हो । तर ध्यान भनेको शरिर, भावना र विचारहरुमा आइरहेको दृष्यलाई द्रष्टाको रुपमा हेरिरहने क्रिया हो । हामी कुनै एउटा कुरामा एकाग्र भयौं भने बाँकी कुराहरु झन् बढी सक्रिय हुन्छन् र ध्यानमा वाधा पुग्दछ । त्यसैले ध्यानमा बस्दा हाम्रा शरिर, भावना र मनमा आएका संवेदनाहरु, विचारहरुलाई हेरिरहनु पर्दछ । यसो गर्दा नकारात्मक विचार, संवेदनाहरु कम हुँदै जान्छन् र अन्ततः ध्यान घट्ने संभावनामा वृद्घि हुन थाल्दछ ।

ध्यानको बारेमा सही जानकारी नलिई ध्यान जति गरेपनि ध्यानबाट हुनुपर्ने रुपान्तरण संभव छैन । त्यसैले सबैभन्दा पहिला ध्यानको बारेमा बुझ्नु जरुरी हुन्छ । मान्छेहरु विसौं वर्ष ध्यान साधनामा लागेर पनि सफलता पाउन नसक्नुको रहस्य पनि यही हो ।

धर्मशास्त्रहरुमा ध्यानको महिमाको बारेमा थुप्रै कुराहरु लेखेको पाइन्छ । ध्यानार्चायहरुले पनि ध्यान गर्नु पर्दछ भनेर हजारौ बिधिहरु दिन्छन् । गहिरिएर हेर्ने हो भने ध्यान गर्ने भन्ने वाक्यनै गलत छ । ध्यान गर्ने होइन ध्यान घट्ने हो । जसरी हामी निद्रा आफै ल्याउन सक्दैनौँ । निद्रा आउने पूर्बाधारहरु अपनाउन सक्छौँ– जस्तै नरम बिच्छौनामा पल्टनु, सुत्नु आदि । यसो गरेपछी निन्द्रा आफैँ आउँदछ । त्यसरीनै ध्यान आउने पूर्बाधारहरु अपनाउन सक्दछौ तर ध्यान गर्न सक्दैनौँ । ध्यान आउन सजिलो बनाउन हामी बिचार कम गर्न सक्छौँ , श्वासको गति सिथिल बनाउन सक्छौँ । यसरी गदै गएपछि ध्यान आफै घट्न सक्दछ । अतः ध्यान एउटा अवस्था हो जो आफै घट्दछ ।

ध्यान सम्वन्धी अर्को धारणा यो छ की ध्यान बस्दा विचारहरु आउनु हुदैन अनि हराउनु पर्दछ भनेर सोच्दछन् । ध्यानमा वस्दा विचारहरु आउन नहुने होइन । ध्यानमा वस्दा अनगिन्ती विचारहरु आउन सक्छन् उक्त विचारलाई होस पूर्वक हेदै जानु पर्दछ । हामी विचारको पछि हराउनु हुदैन । होस पूर्वक उक्त विचारलाई हेर्ने सकेमा उक्त विचारहरु रुपान्तरण हुन्छ । ध्यानमा होस पूर्वक बस्ने हुदाँ हराउनु जरुरी छैन् । ध्यान बस्दा झन होसको मात्रा बढ्दछ । जति जति हामी धेरै सामय ध्यानमा बस्छौ हाम्रो चेतना पनि बढ्न थाल्दछ । ध्यानमा जति बस्दछौ उक्तिकै सत्व उर्जा शरीरमा बढ्न थाल्दछ । जति जति सत्व उर्जा हाम्रो शरीरमा बढ्न थाल्दछ त्यति नै हामी भित्रको चेतना रुपान्तरण हुन थाल्दछ । त्यसैले ध्याान एउटा यस्तो अमूल्य वरदान हो जसले हामीलाई सदाको लागी जन्म मृत्युको चक्रबाट हटाएर निर्बाण सम्म पु¥याउन सक्दछ ।

ध्यान गर्ने बित्तिकै घट्दैन । ध्यानको लागि धैर्यको आबस्यक चाहिन्छ । जब सम्म हाम्रो स्थुल शरिरलाई पर्याप्त उर्जा पुग्दैन तब सम्म ध्यान घट्न सक्दैन । हाम्रो स्थुल शरिरलाई चाहिने उर्जा पुगीसकेपछी उक्त उर्जा आकाश शरिर, बिचार शरिर हुदै शुक्ष्म शरिर तिर जान थाल्दछ । जुन जुन शरिरमा उर्जा बहन थाल्दछ उक्त शरिरको महशुस हुन थाल्दछ । जब हाम्रो चेतना शुक्ष्म शरिरमा पुग्दछ तब हामीलाई शुक्ष्म जगत् को बारेमा थाहा पाउँछौँ । हामी यदी होस र्पूबक शुक्ष्म शरिरमा प्रबेस गर्न सक्ने भएपछी मात्र हाम्रो बास्तबिक अध्यात्म सुरु हुन थाल्दछ । शुक्ष्म शरिरमा पुगेपछी पूर्बजन्म , भबिष्य ज्ञान, शुक्ष्म जगत्को रहस्यहरुको बारेमा सजिलै थाहा पाउन सक्दछौँ । मन्त्र सिद्वि, साधना सिद्विको लागि पनि चौथो शरिर यानेकी शुक्ष्म शरिरमा नपुगी सम्भब छैन । नत्र जिबन भर माला जप गरेर केही हुने वाला छैन । शुक्ष्म शरिरमा पुगेर पनि हाम्रो अध्यत्मिक यात्रा सिद्विदैन । त्यसपछी क्रमश आत्म शरिर, ब्रम्ह शरिर, निर्वाण शरिरमा पुग्नु पर्ने हुन्छ । जब हाम्रो चेतना निर्बाण शरिरमा पुग्दछ तब हाम्रो यात्रा सिद्विन्छ र सधैको लागि हामी निर्वाण हुन्छौँ ।

ध्यान एउटा यस्तो प्रक्रिया हो जसले मनुष्यको चेतनालाई रुपान्तरण गरी परमात्मा सम्म र्पुयाउन सक्दछ त्यसैले दैनिक जीबन्को साथसाथै ध्यानलाई पनि केही समय दिने हो भने जीबन्को नमिटीने पूजि बन्दछ र हामी मानब बनेको बल्ल सार्थक हुन्छ ।

No comments:

Post a Comment