Thursday, May 13, 2010

वास्तविक सन्यासी को हो ?


– डा.आदर्श प्रधान
एम.डि. ( इलेक्ट्रो–होमियोप्याथी
सन्यास शब्द दुई अक्षर “स” र “न्यास” बाट बनेको हो । “स” को अर्थ समाज हो भने “न्यास” को अर्थ स्वतन्त्र हो । अतः “सन्यास” भन्नाले समाजबाट स्वतन्त्र हुने भन्ने बुझिन्छ । यहाँ “समाज” भनेर कुनै स्थुल समाजलाई सम्बोधन गरेको होइन, शरीर, विचार र भावनाहरुको समुहलाई सम्बोधन गरेको हो । त्यसैले सन्यास भनेको शरीर,विचार र भावनाहरुबाट स्वतन्त्र बन्ने प्रकृया हो । सन्यासलाई अर्को शब्दमा बैराग पनि भनिन्छ । जो ब्यक्ति मन, शरीर, भावनाबाट मुक्त हुन सक्छ उ नै वास्तविक सन्यासी हुन्छ ।
आजकाल हामीले गेरु बस्त्र लाएको, लामो कपाल पालेको हजारौं ब्यक्तिहरुलाई देख्न सक्छौं । के उनीहरु सबै सन्यासी हुन् त ? के उनीहरु आफनो शरीर,मन र भावनाबाट स्वतन्त्र छन् ? छन भने उनीहरु बास्तविक सन्यासी हुन् होइनन् भने समाजबाट स्वतन्त्र हुन खोज्दैमा सन्यासी हुन सक्दैन । विभिन्न धर्म, संस्कृति अनुसार सन्यासी बन्ने विधिहरु धेरै छन् । जे जस्ता विधिले सन्यासी बने तापनि चेतनाको दृष्टिकोणबाट हेर्दा सम्पूर्ण सन्यासीहरु एक हुन आउँछ । त्यसैले सन्यासी बन्ने विधि महत्वपूर्ण छैन सन्यासी बन्ने व्यक्तिको चेतनाको उच्चता महत्वपूर्ण हुन्छ । सन्यासी बन्ने धेरै विधिहरु शास्त्रमा पनि उल्लेख गरेको पाइन्छ । ती मध्ये शास्त्रमा गृहस्थ सन्यासीलाई पहिलो श्रेणीमा राखेको छ भने समाजबाट टाढा भएर बसेको सन्यासीलाई अन्तिम श्रेणीमा राखेको छ । झटट् हेर्दा गेरु बस्त्र लगाएर घर–बार त्यागेर सन्यासी बन्ने व्यक्तिहरुको जिवन कठीन देखिएता पनि गृहस्थ सन्यासीको तुलनामा सजिलो छ । किनकी गेरु बस्त्र लाएर बस्ने सन्यासीहरुलाई पारिवारीक झन्झट झेल्नु पर्दैन । तर गृ्हस्थ सन्यासीहरुलाई पारिवारीक, भौतिक, सामाजिक परिवेश संगै आन्तरिक साधनलाई अगाडी बढाउनु पर्ने हुन्छ ।
हामीले सन्यासीहरु भन्नासाथ आध्यात्मिक उच्चता हाशिल गरेको महान ब्यक्तित्व भन्ने ठान्दछौं । तर वास्तविक सन्यासी बाहिरी आँखाले हेरेर पत्ता लगाउन सकिन्न । वास्तविक सन्यासी कुनै गेरु वस्त्रले सजिएको नहुन सक्छ, चार–पाँच शिष्य वरीपरि राखेर हिडेको पनि नहुन सक्छ तर उ हर पल परम चेतना संग डुबिरहेको हुन्छ । जब कुनै व्यक्तिले मन,भावना र बिचारको मोहलाई त्याग्दछ त्यस पछि मात्र उ भित्रको चेतनासंग साक्षात्कार हुन्छ र आपूm पनि विराट चेतनाको एक अंश हो भन्ने बोध हुन्छ ।
जसरी कमल हिलोमा पूल्दछ त्यही हिलो मै वसेर पनि उ हिलो भन्दा भिन्न आफनो सुन्दरतालाई प्रस्तुत गर्दछ । त्यसरी नै जो व्यक्ति समाजमै रहेर पनि समाजको नियम भन्दा भिन्न आफनो पहिचान प्रस्तुत गर्दछ उनीहरु नै गृहस्थ सन्यासी हुन् । गृहस्थ सन्यासीकोृ श्रीमती, छोरा–छोरी,घर,गाडी सबै हुन सक्दछ । तर यस्तो व्यक्तिहरुले उक्त वस्तुहरुमा मोह राख्दैनन् । समाजबाट टाढा रहेका सन्यासीहरु सम्पत्ती, श्रीमती, छोरा–छोरीहरुबाट टाढा रहेर पनि आफनो मन, भावना र शरीरबाट छुट्टिन सक्दैनन् भने उनिहरु वास्तविक सन्यासी हुन सक्दैनन् ।
आम मानिसहरु आपूलाई शरीर,विचार,भावना ठान्दछन् उनीहरुको चेतना (होस)स्थूल शरीर,विचार,भावनामा अड्किरहेका हुन्छ । तर वास्तविक सन्यासीलाई म को हुँ ? भन्ने वारेमा वोध हुन्छ । म शरीर, विचार र भावनाभन्दा माथिको चेतना हुँ भन्ने वोध हुन्छ । वास्तविक सन्यासीहरु वर्तमान समयसंग बाच्दै प्रत्येक कुराहरुलाई सकारात्मकतामा हेर्ने गर्दछन् । उनीहरु खानपानको शुध्दिकरण भन्दा पनि चेतनाको शुध्दिकरणलाई नै बढि प्राथमिकता दिन्छ्न् । सन्यासीहरु मन, भावना, विचारहरुबाट स्वतन्त्र हुने भएकोले उनीहरु कसैको अधिनमा रहन चाहदैनन् । अतः सन्यासीहरुलाई कसैले न त खुसी बनाउन सक्दछ न त दुःखी नै बनाउन सक्छ । यदि कुनै सन्यासीहरु कसैको कुरा सुन्ने, कसैको कुरा नसुन्ने, भेदभाव, अन्धविश्वास मात्र राखेर समाजमा व्यवहार गर्दछ भने त्यस्ता सन्यासीहरुबाट सचेत रहनु पर्दछ । उनीहरु वास्तविक सन्यासी हुन सक्दैनन्, उनीहरु साधक मात्र हुन सक्दछ ।
सन्यासीहरुले श्राप दिए पनि लाग्छ र आशिष दिए पनि लाग्छ भन्ने कुरा सत्य हो । किनकी उनीहरु, हरहमेशा परमचेतनामा डुविरहने हुँदा उनीहरुको वाक्य ब्रम्हसरी हुन्छ । अतः सन्यासीहरुको निर्णय एकदम सही हुन्छ । उनीहरु प्रकृतिको नियमलाई स्विकार गर्दछन् ।
वास्तविक सन्यासीहरु सिद्धिको घमण्ड प्रदर्शन गर्दैनन् । उनीहरु सब थोक थाहा पाएर पनि थाहा नपाए जस्तै गरी स्विकार भावमा बस्छन् । आम मानिसहरु अहिले पनि सन्यासी भन्ने वित्तिकै गेरु वस्त्र लाएको, घरवार त्यागेको जोगी भनि ठान्दछन् । परिवारको छोरा,छोरीहरु अध्यात्मिक अभ्यासहरु गर्न मन्दिर,आश्रमतिर गयो भने हाम्रा छोरा–छोरीहरु सन्यासी वन्छन् की भन्ने डर आमा वावुको हुन्छ । त्यसैले वास्तविक सन्यासी वन्न कुनै घरवार, श्रीमती, पैसा जस्ता भौतीक वस्तुहरु त्याग्न आवश्यक छैन । घर परिवारमै रहेर पनि मन, विचार, भावनाहरुबाट स्वतन्त्र रहन सके प्रत्येक घर घरमा वास्तविक सन्यासीहरुको जन्म हुनेछ ।

No comments:

Post a Comment